बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
प्रतापपुर गाउँपालिका

गोपिगन्जमा एक दिने बाख्रापालन तालिम सम्पन्न

३ चैत्र २०८१, सोमबार
३ चैत्र २०८१, सोमबार

रंजीत शर्मा / नवलपरासी (पश्चिम), ४ चैत–

व्यावसायिक बाख्रापालनलाई प्रवर्द्धन गर्दै कृषकहरूको आयआर्जन बढाउने उद्देश्यले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गोपिगन्जद्वारा आयोजित एक दिने बाख्रापालन तालिम सफलता पूर्वक सम्पन्न भएको छ।

संस्थाले ग्रामीण तथा शहरी क्षेत्रमा बसोवास गर्ने गरिब तथा विपन्न वर्गका व्यक्तिहरूलाई आर्थिक रूपमा सशक्त बनाउन वित्तीय सेवा प्रदान गर्दै आएको छ। वित्तीय पहुँचको अभावमा स्वरोजगार तथा आयआर्जनका अवसरबाट पछि परेका व्यक्तिहरूलाई लक्षित गरी यस संस्थाले सरल तरिकाले वित्तीय सुविधा उपलब्ध गराउने नीति लिएको छ। यही नीति अनुरूप संस्थामा आबद्ध महिला सदस्यहरूको आर्थिक उपार्जनमा थप सहयोग पुगोस भन्ने उद्देश्यले बाख्रापालन तालिमको आयोजना गरिएको शाखा प्रबन्धक विष्णु प्रसाद भण्डारीले बताए।

तालिम कार्यक्रम संस्थाका शेयर सदस्य पिङला चौधरीको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका–१ का वडा अध्यक्ष महेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि चौधरीले बाख्राको उचित स्याहारसुसार, सन्तुलित आहार, रोग नियन्त्रण तथा सुधारिएको प्रविधिको प्रयोगले उत्पादकत्व दोब्बर बनाउन सकिने बताए। साथै, उनले यस्ता तालिमहरूमा निजी क्षेत्रको लगानी हुनु सकारात्मक पक्ष भएको उल्लेख गरे।

तालिममा प्रशिक्षक धर्मेन्द्र यादवले नेपालमा बाख्रापालन व्यवसाय तीव्र रूपमा विस्तार भए पनि वैज्ञानिक पद्धति नअपनाउँदा किसानहरूले अपेक्षित उत्पादन र आम्दानी गर्न नसकेको बताए। उनले वैज्ञानिक खोर व्यवस्थापन, आहार सन्तुलन, रोग पहिचान तथा नियन्त्रण, संक्रामक रोगहरूको खोप कार्यक्रम, सुधारिएको जातको बाख्रा चयन र बजार व्यवस्थापन जस्ता विषयमा विस्तृत प्रशिक्षण दिएका थिए।

संस्थाको सदस्य कल्याण कोषबाट आयोजित यस तालिमले किसानहरूलाई आधुनिक बाख्रापालन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरी व्यावसायिकता अभिवृद्धि गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्न सके किसानहरूको आम्दानीमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष ऋषिदेव दास, आलेपा प्रमुख विमल प्रसाद कोइराला, अनुगमन अधिकृत जयकृष्ण जोशी, सुनवल शाखा प्रमुख विष्णु घिमिरे, परासी शाखा प्रमुख कृष्णमुरारी लाल माली लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। तालिममा ७० जना भन्दा बढी सहभागी भएका थिए।

लेखकको बारेमा