प्रतापपुर गाउँपालिकाको १७ औं गाउँसभा सम्पन्न
परासी, २५ पुस । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको १७ औं गाउँसभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ । सभाले १३ वटा कार्यविधि, ५ वटा निर्देशिका र दुई वटा नीति पारित गरेको छ भने एउटा कार्यविधि संशोधन गरेको छ । गाउँसभाले आ.व. २०८१:०८२ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तगतका विभिन्न योजनाहरु संशोधन पनि गरेको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । १७ औं गाउँसभाले खानेपानी तथा सरसफाइ समितिको गठन तथा सञ्चालन सम्बन्धी कार्यविधि, कृषक समूह गठन तथा व्यवस्थापन कार्यविधि, कृषि विकास कार्यक्रम सञ्चालन कार्यविधि, युवा समूह गठन तथा व्यवस्थापन कार्यविधि, महिला समूह गठन तथा व्यवस्थापन कार्यविधि र प्रतापपुर गाउँपालिकामा उपेक्षित उष्ण प्रदेशीय रोग प्रभावित नागरिकका लागि स्वयम् हेरचाह समूह गठन, व्यवस्थापन तथा परिचालन सम्बन्धी कार्यविधि पारित गरेको छ । यस्तै प्रतापपुर गाउँसभा सञ्चालन कार्यविधि, गाउँपालिकाको बैठक सञ्चालन कार्यविधि, शिक्षक स्वर्णीम अवकाश योजना कार्यक्रम कार्यान्वयन कार्यविधि, निजी जग्गाको माटो उत्खनन् तथा ओसारपसार सम्बन्धी कार्यविधि, टोल विकास समिति गठन तथा सञ्चालन कार्यविधि, प्रतापपुर अध्यक्ष छात्रवृत्ति कार्यक्रम सञ्चालन कार्यविधि पारित गरेको अध्यक्ष यादवले बताउनुभयो ।
गाउँसभाले आधारभूत अस्पताल व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७९ को दफा २ (झ), दफा ३(१) र दफा ४ मा भएको व्यवस्थालाई संशोधन पनि गरेको छ । सभाबाट बजार अनुगमन निर्देशिका, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुलाई मासिक यातायात खर्च सम्बन्धी निर्देशिका, शीघ्र कुपोषित बालबालिका खोजतलास कार्यक्रम सञ्चालन निर्देशिका, खोप किनिक र गाउँ घर क्लिनिक कार्यक्रममा फिल्ड खटिने कर्मचारीका लागि यातायात खर्च सम्बन्धी निर्देशिका तथा गर्भवती सुत्केरी तथा नवजात शिशुलाई जटिल अवस्थामा आकस्मिक प्रेषण यातायात खर्च सहयोग निर्देशिका पनि पारित भएको छ ।

गाउँपालिकाले लैंगिक समानता अपांगता तथा सामाजिक समावेशीकरण नीति र गाउँपालिकाको फोहरमैला व्यवस्थापन नीति समेत निर्माण गरी पारित गरेको छ ।गाउँसभाले वडागत रुपमा पेश भएका विभिन्न २४ वटा, शाखागत रुपमा पेश भएका सात वटा र पालिका स्तरीय एउटा गरी ३२ वटा योजनाको बजेट तथा कार्यक्रम संशोधन एवं रकमान्तर गर्ने निर्णय गरेको सभाका सचिव एवं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चौधरीले जानकारी दिनुभयो ।

गाउँसभालाई सम्बोधन गर्दै पालिका अध्यक्ष यादवले निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धता अनुसार नै गाउँपालिकाको समग्र विकासका कार्यहरु अघि बढिरहेको बताउनुभयो । उहाँले सबैको साथ र सहकार्यबाट मात्रै पालिकाको समग्र विकास हुने भएकोले सबै पक्ष मिलेर गाउँपालिकाको विकासमा सहयोग गर्न आह्वान गर्नुभयो। पालिका उपाध्यक्ष मानकुमारी चौधरीले गाउँपालिकाको विकासका लागि सवै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । जनताका अपेक्षा धेरै भएपनि गाउँपालिकाले सीमित स्रोत र साधन प्रयोग गर्दै विकासको कामलाई तीव्रता दिएको उपाध्यक्ष चौधरीले बताउनुभयो ।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड