बिहीबार, ०१ फागुन २०८१
Uncategorized

कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण

२८ जेष्ठ २०८३, बिहीबार
२८ जेष्ठ २०८३, बिहीबार

मर्चवार। मायादेवी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकाको समन्वय तथा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीद्वारा सञ्चालित पोषणमार्फत जीवन रूपान्तरण (IDE Nepal) परियोजना को सहयोगमा कुपोषित बालबालिकाका परिवारलाई फलफूलका बिरुवा, सरसफाइ सामग्री तथा कृषि सामग्री वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम मा सम्बन्धित वडाका वडा अध्यक्ष, स्वास्थ्य संस्थाका इन्चार्ज, वडा सचिव तथा विभिन्न समाजसेवीहरूको उपस्थितिमा सामग्री वितरण गरिएको थियो। सहभागी परिवारहरूलाई फलफूलका बिरुवा रोप्न, संरक्षण गर्न तथा घरपरिवारको पोषण अवस्थालाई सुधार गर्न प्रेरित गरिएको थियो।

कार्यक्रमका वक्ताहरूले आज रोपिएका बिरुवाहरू केवल हरियालीका प्रतीक मात्र नभई भविष्यमा परिवारलाई पोषणयुक्त फलफूल उपलब्ध गराउने आशा र आत्मनिर्भरताका आधारसमेत रहेको बताएका छन्। स्थानीय स्तरमै पोषणयुक्त खानेकुराको पहुँच बढाई कुपोषण न्यूनीकरण गर्नु तथा स्वस्थ जीवनशैलीको विकास गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको जनाइएको छ।

हालको समयमा धेरै मानिसहरू जंक फुडतर्फ आकर्षित भइरहेका बेला पोषणयुक्त खाद्यवस्तुको उत्पादन तथा उपभोगमा अपेक्षित ध्यान पुग्न नसकेको सरोकारवालाहरूले बताएका छन्। बढ्दो आर्थिक अभावका कारण धेरै परिवारहरू सन्तुलित र पोषणयुक्त भोजनबाट वञ्चित हुनुपरेको अवस्था रहेको उल्लेख गर्दै यसले समुदायमा पोषणसम्बन्धी समस्या बढाइरहेको उनीहरूको भनाइ थियो।यसै सन्दर्भमा “आज रोपेको बिरुवाले भोलि पोषण दिन्छ” भन्ने सन्देशसहित अभियान सञ्चालन गरिएको हो। प्रत्येक घरले कम्तीमा एउटा फलफूलको बिरुवा रोपेर संरक्षण गर्न सके भविष्यमा आफ्नै घरबाट स्वस्थ, ताजा र पोषणयुक्त खाद्य सामग्री प्राप्त गर्न सकिने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा कृषि तथा पोषण सुपरभाइजर ओम प्रकाश यादव र फिल्ड प्रोग्राम वास सुपरभाइजर जोगिन्द्र यादव ले पोषण, सरसफाइ र घरायसी कृषि उत्पादनको महत्वबारे जानकारी गराएका थिए।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले “बिरुवा रोप्नु भनेको केवल रुख हुर्काउनु होइन, भोलिको स्वस्थ पुस्ताको भविष्य तयार गर्नु हो” भन्ने सन्देशलाई आत्मसात गर्दै अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

लेखकको बारेमा