बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
पाल्हीनन्दन गाउँपालिका

पाल्हीनन्दनद्वारा आदर्श माविलाई बस हस्तान्तरण

२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार

नवलपरासी/वैशाख २९ —

पाल्हिनन्दन गाउँपालिका–२ स्थित हरपुर माध्यमिक विद्यालयको स्वामित्वमा रहेको टाटा कम्पनीको बस (लु.१.क. ५०७३) आदर्श माध्यमिक विद्यालय, परासीलाई हस्तान्तरण गरिएको छ। पाल्हिनन्दन गाउँपालिकाको कार्यपालिका निर्णयअनुसार २०८१ साल माघ ५ गते गरिएको सहमति अनुसार बस २०८४ साल वैशाख मसान्तसम्मका लागि आदर्श माविको जिम्मामा दिइएको हो।

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजु प्रसाद गुप्ताका अनुसार “पाल्हिनन्दन गाउँपालिकाका बिभिन्न वस्तीहरू महेशपुर, सुनरी, बडसारे, शंकरपुर, हरपुर,विश्नुपुरा,सनई लगायत स्थानबाट परासीमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई दैनिक आवतजावतमा सहुलियत दिने उद्देश्यले यो बस आर्दश मा.वि.परासीलाई सञ्चालन गर्न जिम्मा दिएको बताए।

यस सम्झौता अनुसार बसको चालक पालिकाले उपलब्ध गराउनेछ भने त्यसको पारिश्रमिक, बस सञ्चालनमा लाग्ने इन्धन तथा मर्मत खर्च, साथै दुर्घटनाबाट हुनसक्ने सम्भावित क्षति तथा क्षतिपूर्तिको सम्पूर्ण जिम्मेवारी आदर्श माविले वहन गर्नेछ। यदि कुनै विवाद उत्पन्न भएमा पाल्हिनन्दन गाउँपालिका कार्यपालिकाको निर्णयलाई मान्यता दिइनेछ। साथै, बसको प्रयोग पूर्णतः विद्यालय प्रयोजनमा मात्र सीमित रहनेछ, निजि वा अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने सर्त राखिएको छ।

दुवै पक्षको सहमतिमा साक्षीहरुको रोहवरमा गाउँपालिकामा लेखापढी गरी गराइएको यो सम्झौताले ग्रामीण भेगका विद्यार्थीहरूलाई सहज शिक्षामा पहुँच पुर्‍याउन ठुलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। बसको बाहिरी भागमा “पाल्हिनन्दन गाउँपालिका, नवलपरासीबाट सहयोग प्राप्त बस” भन्ने उल्लेख अनिवार्य गरिनेछ, जसले स्थानीय तहको प्रतिबद्धता र सहभागिता झल्काउनेछ।

सम्झौताका दुवै पक्ष— पाल्हीनन्दन गाउँपालिका र आदर्श माविले आपसी समझदारीका आधारमा यो सहकार्यलाई सफल र अनुकरणीय बनाउन प्रतिबद्धता जनाएका छन्। यस प्रकारको सहकार्यले सरकारी विद्यालय बीच समन्वय र स्रोत साधनको साझेदारीद्वारा शिक्षाको गुणस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

यो पहलले पाल्हिनन्दन गाउँपालिकाको शिक्षा क्षेत्रप्रतिको संवेदनशीलता र सदरमुकाम परासी अध्ययन गर्न जाने ग्रामीण विद्यार्थीको हितमा स्थानीय सरकारको जिम्मेवारी निर्वाह गरेको देखिन्छ।

लेखकको बारेमा