बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
पालिका

मर्चवारको नहर सरसफाई अभियान: कृषिमा नयाँ आशा

२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार

मर्चवार

रुपन्देही को मर्चवार सम्मरीमाई गाउँपालिका वडा नं ७ देखि मर्चवार गाउँपालिका वडा नम्बर १ सेमरा सम्माको सिँचाइ नहरमा व्यापक सरसफाई कार्य सुरु गरिएको छ। यो कार्यक्रम मर्चवार क्षेत्र नम्बर ४ ‘क’ को विधायक मा० कन्हैया बनिया को विशेष पहलमा तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको हो।

सदियोंदेखि कृषिमा आधारित मर्चवार क्षेत्रको मुख्य आधार भनेकै सिँचाइ व्यवस्था हो। तर पछिल्ला केही वर्षदेखि नहरमा पर्याप्त पानी नपुग्ने समस्याले यहाँका किसानहरु खेतीपातीमा निकै असर बेहोर्दै आएका थिए। यद्यपि नहर संरचना अस्तित्वमा थियो, तर त्यसमा पानी बग्दैनथ्यो। यही समस्यालाई मध्यनजर राख्दै विधायक बनिया को अगुवाईमा सरसफाई अभियान थालिएको हो।

विधायक कन्हैया बनिया अनुसार, “नहरमा वर्षौंदेखि थुप्रिएको लेदो, झारजङ्गल, फोहोरी अवरोधहरू हटाएर अब नहरलाई पूर्ण रूपमा प्रयोगमा ल्याउने योजना रहेको छ। कृषकहरूलाई सिँचाइ सुविधा सहज रुपमा उपलब्ध गराउने हाम्रो प्राथमिकता हो।”

मर्चवार लिफ्ट सिँचाइ मूल समितिका अध्यक्ष राजेन्द्र यादव मिडिया चोक परसाहवा देखि सेमरा सम्मको नहर सरसफाई अभियानमा अहम भूमिका निर्वाह गरिरहेका छन्। सरसफाई कार्यको समन्वय, निगरानी र स्थानीय सहभागिता सुनिश्चित गर्न अध्यक्ष यादव निरन्तर सक्रिय छन्। उनको पहलले अभियानलाई थप प्रभावकारी बनाएको छ।

सरसफाई अभियान अन्तर्गत नहरको सम्पूर्ण भाग सफा गर्ने, क्षतिग्रस्त भागहरू मर्मत गर्ने र पानी सहज रूपमा बग्न सक्ने संरचना बनाउने काम भइरहेको छ। यसका लागि स्थानीय युवाहरू, वडास्तरका जनप्रतिनिधिहरू, तथा प्राविधिक कर्मचारीहरूको सहकार्यमा योजना अघि बढाइएको छ। अभियानमा स्थानीय जनसहभागिता उल्लेखनीय रहेको छ।

स्थानीय किसान मो० आरिफ खान भन्छन्, “हामीले विगतमा नहर देख्यौं तर पानी देखेनौं। अब सरसफाई भइरहेको छ, यसपछि खेतीमा सुधार आउनेमा हामी आशावादी छौं।”

मर्चवारको कृषि उत्पादनमा उल्लेखनीय वृद्धि ल्याउन नहर सरसफाईले टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। यसले धान, गहुँ, तरकारी लगायतका बालीको उत्पादनमा सुधार ल्याएर स्थानीय अर्थतन्त्र सुदृढ बनाउन योगदान दिनेछ। साथै, कृषिमा निर्भर युवाहरूको रोजगारी सम्भावनालाई समेत टेवा पुग्ने विश्वास गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रदेशस्तरीय सिँचाइ पूर्वाधार सुदृढिकरणका लागि जारी गरेको विशेष योजना अन्तर्गत यो सरसफाई कार्यक्रम परेको हो। मन्त्रालय स्रोतका अनुसार, मर्चवार क्षेत्रलाई प्राथमिकता सूचीमा राखेर बजेट विनियोजन गरिएको छ।

कार्यक्रमका क्रममा विधायक बनियाले नहरको निरीक्षण समेत गरेका छन् र अबका दिनमा अझ प्रभावकारी सिँचाइ व्यवस्था निर्माणका लागि आवश्यक नीति तथा बजेट सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नहर सरसफाई अभियानले मर्चवारवासी किसानहरूमा नयाँ आशा बोकेको छ। योजनाको सफल कार्यान्वयन सँगै अब यो क्षेत्र कृषि उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्नेछ।

लेखकको बारेमा