दाङमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, ११ घाइते

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिक वडा नं. १० गुर्जेखोलानजिकै दिउँसो भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने बसमा सवार ११ जना घाइते भएका छन्।

तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख ८१६ नं. को बसले विपरीत दिशाबाट आउँदै गरेको रा ५ प ६६५४ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–१० निवासी ४४ वर्षीय दिलिप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते केसीलाई उपचारका लाग घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए।

थापाका अनुसार दुर्घटनामा बसमा सवार २२ जनामध्ये ११ जना घाइते भएका छन्। घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरु रोल्पा त्रिवेणी गाउँपालिका–४ बस्ने वर्ष २८ का वीरबहादुर डाँगी, राप्ती गाउँपालिका–५ बस्ने वर्ष ३१ का प्रेम सुवेदी, तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डी बस्ने वर्ष ४५ की देवा विक, तुलसीपुर–१६ बस्ने वर्ष ५४ की सीताकुमारी अधिकारी, तुलसीपुर–१९ बस्ने वर्ष ३८ की तुलसा खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

त्यसैगरी घोराही उपमहानगरपालिका–९ बस्ने वर्ष ६० का बलबहादुर डाँगी, घोराही–५ बस्ने वर्ष २४ की सावित्रा बस्नेत, घोराही– ३ बस्ने वर्ष ३४ का रामसिंह चौधरी, घोराही–१२ बस्ने वर्ष ३७ का नरबहादुर वली, घोराही–९ बस्ने वर्ष २२ की सीता विश्वकर्मा र घोराही– १५ बस्ने वर्ष २४ का दिप परियार घाइते भएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए।

प्रहरीले बस चालक घोराही–१८ फुर्सेखाली निवासी वर्ष ५३ का गोपाल विकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।

More From Author

Hateya

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

विद्युत प्राधिकरणमा खुल्यो १ हजार बढीलाई रोजगारी