बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
पालिका

सुस्तामा हतियार सहित पसेको भारतीय प्रहरीकाे रहस्यमय याेजना असफल, नेपाल प्रहरी मूकदर्शक

२२ माघ २०८१, मंगलवार
२२ माघ २०८१, मंगलवार

नवलपरासी

सुस्तामाथि गिद्धे नजर राखेकाे भारतीय प्रहरी नेपालीकाे हत्या गर्न फेरी एकपटक असफल भएकाे छ ।

नारायणी नदीपारीकाे सुस्ता गाउँका एक नेपालीलाइ अपहरण गरी भारत लैजाने मनशाय लिएर हातहतियार सहित सरकारी गाडीमा सुस्ता पसेकाे भारतीय प्रहरीकाे एक सशक्त टीम साेमवार असफल भएकाे छ । जसले ठुलै दुर्घटना हुनबाट सुस्ता भूमि जाेगिएकाे छ ।

सुराकीले पक्कापक्की खबर दिएकाे हुनुपर्छ तर स्वास्थ्यमा समस्या देखिएपछि सरस्वती पुजा कार्यक्रमकाे बीच अवस्थामै फर्किनु परेकाले नेपाली बीर मुन्ना खाँ साेमवार भारतीय प्रहरीकाे शिकार हुनबाट जाेगिएका छन् र भारतीय प्रहरी रित्ताे हात फर्केकाे छ । तर यस घटनालाइ नेपाल प्रहरीले संयाेग मात्र भनेकाे छ र बिना कुनै केरकार भारततर्फ फिर्ता पठाएकाे छ ।

नेपाल प्रहरीले अवैध रूपमा सुस्ता पसेकाे भारतीय प्रहरीकाे टीमबारे विस्तृत जानकारी दिन चाहेकाे छैन । उसले घटना काे स्विकार मात्र गरेकाे छ, तर विस्तृत जानकारी दिएन ।

पश्चिम नवलपरासी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले अफिसियल भ्यान सहितकाे भारतीय प्रहरी बाटाे बिराएर साेमवार दिउंसाे साढे ३ बजे नेपाली भूमि सुस्ता पसेकाे बताउनु भएकाे छ तर ति प्रहरीहरू काे थिए ? भारतीय प्रहरीहरू हातहतियार र भ्यानसहित सुस्तामा किन पसे? कसकाे नेतृत्वमा आएका थिए ? कति जनाकाे संख्यामा थिए? हतियार कतिवटा थियाे? यसबारे यकिन गर्न नसकिएकाे भन्नु भएकाे छ ।

उहाँले अनलाइनजनतासंग फाेनमा कुराकानी गर्दै नेपाल प्रहरीले भारतीय प्रहरीलाइ नेपाली भूमि सुस्ताबाट फिर्ता पठाएकाे बताउनु भयाे तर विस्तृत जानकारी आफुसित नरहेकाे प्रस्ट पार्नुभएकाे छ ।

रगत पसिना बगाएर सुस्ता जाेगाएका मुन्ना खाँ उहिलेदेखि अहिलेसम्म भारतीय प्रहरीकाे आँखाकाे ताराे बनेका छन् । सुस्ता जाेगाएर नेपाल र नेपालीकाे अस्तित्व कायम गराएका मुन्ना खाँ लाइ भारतीय प्रशासनले निगरानीमा राखेकाे छ । मुन्ना खाँ कै कारण सुस्ता अाज स्वतन्त्र रूपमा नेपाली भूमिकाे अस्तित्व कायम राखेकाे भारतीय प्रशासनकाे बुझाइ छ ।

अनलाइनजनतासंग कुरा गर्दै मुन्ना खाँ ले भने, सरस्वती पुजाकाे सामुहिक कार्यक्रममा सहभागी हुन म साेमवार नदी पारीकाे सुस्ता गाउँमा रहेकाे राष्ट्रिय दलित प्राथमिक विद्यालय पुगेकाे थिएं तर सञ्चाे नलागेका कारण पुरा समय त्यहाँ बस्न नसकेर म बिचमै फर्कें, जसले भारतीय प्रहरीकाे अपहरणमा पर्नबाट जाेगिएं, भने ।

विहान साढे १० बजे सुस्ता पुगेका खाँ साढे १२ बजे विद्यालयबाट फर्केका थिए, जसले उनी भारतीय प्रहरीकाे हातबाट पक्राउ हुनबाट जाेगिएका थिए । भारतीय प्रहरी मलाइ पक्राउ गर्नकै लागि सुस्ता आएकाे हाे तर त्यतिबेलासम्म म नदीपारी फर्की सकेकाे थिएँ, जसले म जाेगिएं, मुन्न खाँ ले भन्नुभयाे ।

उहिलेकाे समयमा भारतमा अपराध गरेकाे आराेप लागेपनि प्रायजसाे सबै मुद्दामा सफाइ पाइसकेका मुन्ना खाँ लाइ सुस्ता भूमि जाेगाएकै कारण भारतीय प्रशासने उनलाइ पक्राउ पार्ने सूचीमा राखेकाे छ । उनलाइ पक्रनका लागि यसअघि पनि भारतीय प्रहरीले असफल प्रयास गरिसकेकाे छ ।

स्थानीय भन्छन्, हामीले भारतीय प्रहरीलाइ भ्यानसहित घेरेका कारण उत्पन्न विवादमा नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थल पुग्याे तर हातहतियार सहित नेपाली भूमिमा पसेकाे भारतीय प्रहरीलाइ नेपाल प्रहरीले कुनै कार्वाही नगरी फिर्ता पठाइ दियाे ।

स्थानीयका अनुसार, याे संयाेग मात्र नभइ रणनीतिक याेजनाका साथ भारतीय प्रहरीहरू हातहतियार सहित नेपाली भूमि सुस्ता पसेकाे हुनुपर्छ, भारतीय प्रहरी वाल्मिकीनगर थानाकाे थियाे, वरिष्ठ स.इ.काे नेतृत्वमा थियाे र उनीहरू ६ जनाकाे संख्यामा थिए, भारतीय नम्बर प्लेटकाे स्कार्पियाेमा थिए तथा केही प्रहरीसित साना हतियार समेत देखा परेकाे थियाे ।

तर विडम्बनाकाे कुरा के छ भने नेपाल प्रहरीले कुनै प्रमाण दिन चाहेकाे छैन, सबै कुरा लुकाएकाे अवस्था छ । कारण के हाेला, बुझ्न गाह्राे छ। स्थानीय प्रहरी चाैकी सुस्ताका असइ वशिष्ठ यादव भन्छन्, घटना सत्य हाे तर हामीले कुनै प्रमाण आफुसित राखेनाैं ।

लेखकको बारेमा