विद्यार्थीको जीवनसँग खेलवाड: वडा अध्यक्ष र वि.व्य.स अध्यक्ष बीचको असमझदारीले रोकियो शिक्षक भर्ना प्रक्रिया

ज्ञानेश्वर साहनी /नवलपरासी, १३ माघ
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १४ स्थित जनता माध्यमिक विद्यालय डैनहवाले शिक्षक र कर्मचारी पदपूर्तिका लागि प्रक्रिया सुरु गरेको झन्डै आठ महिना बितिसक्दा पनि उक्त प्रक्रिया रोकिएको छ। वडा अध्यक्ष ओमप्रकाश यादव र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश पासीबीचको असमझदारी तथा गैरजिम्मेवार व्यवहारका कारण यो समस्या उत्पन्न भएको हो।
विद्यालयले रामग्राम नगरपालिकाको स्वीकृतिमा गत जेठ ४ गते चार रिक्त पद—तीन शिक्षक र एक कार्यालय सहयोगीका लागि विज्ञापन आह्वान गरेको थियो। तर, यो विज्ञापनका कुनै पनि प्रक्रिया हालसम्म अघि बढ्न सकेको छैन।

यस विषयमा वडा अध्यक्ष ओमप्रकाश यादवले भने, “हाम्रोमा कुनै विवाद छैन। तर, खै किन यति लामो समयसम्म प्रक्रिया रोकिएको हो, मैले बुझेको छैन। मैले आवश्यक निर्देशन दिइसकेको छु।” यादवको यो अभिव्यक्तिले उनी यो समस्याप्रति गम्भीर नरहेको स्पष्ट हुन्छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश पासीले भने, “विज्ञापन प्रकाशित भएपछि मेरो बुवा बिरामी हुनुभयो। उहाँको उपचारमा व्यस्त भएकाले प्रक्रिया अघि बढाउन सकिनँ। त्यसपछि खेतीपातीमा लाग्नुपर्यो। अब भने प्रक्रिया अघि बढाउने तयारी गर्दैछु।” तर, बुवा बिरामी भए पनि कार्यवाहकलाई जिम्मेवारी हस्तान्तरण गरेर प्रक्रिया अघि बढाउन सकिने विकल्प हुँदाहुँदै यस्तो गैरजिम्मेवार व्यवहार देखाएको प्रस्ट हुन्छ।

विद्यालयका प्रधानाध्यापक जयप्रकाश यादवले भने, “व्यवस्थापन समितिका अध्यक्षले मौखिक रूपमा प्रक्रिया रोक्न निर्देशन दिएका कारण यो प्रक्रिया अघि बढ्न सकेको छैन।” उनको यो अभिव्यक्तिले विद्यालय प्रशासनको कमजोरीलाई उजागर गर्छ।
विद्यालयले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा तीन जना शिक्षक र एक कार्यालय सहयोगीका लागि आवेदन माग गरेको थियो। यसका लागि दुई पटक सूचना आह्वान गरी परीक्षा तालिका तय गरिए पनि अन्तिम समयमा असमझदारीका कारण परीक्षा स्थगित गरियो। यसरी चार पदका लागि २५ भन्दा बढीले आवेदन दिएको भए पनि विद्यालय प्रशासन र सरोकारवालाको लापरवाहीले विद्यार्थीको भविष्यसँग खेलवाड भएको छ।
वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालय प्रशासनबीचको समन्वय अभावका कारण यो समस्या उत्पन्न भएको हो। विद्यार्थीहरूको हितलाई प्राथमिकतामा राखेर यथाशीघ्र प्रक्रिया अघि बढाउनु जरुरी छ। अन्यथा, यो लापरवाहीले विद्यार्थीको शैक्षिक जीवनमा गम्भीर असर पर्नेछ।






भर्खरै
-
लुम्बिनी प्रदेश सरकारका गाडीको निर्लज्ज दुरुपयोग कर्मचारी मदिरा र जुवामा मस्त
-
जरा अभियान अन्तर्गत वडा नं ७ मा वडा कमिटी गठन
-
सशस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामानहरू बरामद
-
बर्दघाट कालिका मन्दिरमा रुद्र महायज्ञ हुँदै
-
भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु
-
इलाका प्रहरी कार्यालय लुम्बिनी सक्रिय