ज्ञानेश्वर सहानी/ नवलपरासी / पुष २५
पश्चिम नवलपरासीको सिमा क्षेत्रको अपराधिक गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि सुरक्षित नवलपरासी अभियान’सुरु योजना निर्माण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले सुरक्षित नवलपरासीका लागि अपराधहरुको प्राथमिकीकरण गर्दैै योजना तयार गरेको हो । जसका लागि सुरक्षित र अपराधरहीत नवलपरासीका लागि विभिन्न उच्च अपराधको प्राथमिकीकरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक (डिएसपी) रेशम बोहराका अनुसार सुरक्षित नवलपरासीका लागि सूचकहरु अघि सारिएको छ । नवलपरासी प्रहरी अब मिसन र भिजनसहित सरोकारवालाहरुको समन्वयमा अपराधको प्राथमिकीकरण र अपराधिक गतिविधि नियन्त्रण तथा न्यूनीकरणका लागि योजना अघि सारेको उनको भनाइ छ ।
नवलपरासी प्रहरीका अनुसार यहाँको मुख्य समस्या लागुऔषध दुव्र्यसन हो । लागुऔषध दुव्यर्सन तथा ओसारपोसार रोक्न समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना फैलाउने, आपूर्ति रोक्ने, सेवनकर्तालाई मनोसामाजिक परामर्श र लागुऔषधविरुद्ध सचेतना फैलाउने कार्यक्रम गर्ने योजना छ ।
दोस्रो ठूलो समस्याको रुपमा सवारी दुर्घटना रहेको नवलपरासी प्रहरीको निष्कर्ष छ । दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा योजना, सडक सुरक्षा सचेतना र योजनबद्ध ट्राफिक चेकिङ र मादक पदार्थ सेवन (मापसे) चेकिङलाई प्राथमिकता दिइएको पाण्डेय बताउँछन् । आत्महत्या, सवारी दुर्घटना, चोरी तथा चोरी निकासी, साइबर अपराध लागुऔषध दुव्यर्सन तथा ओसारपोसार र महिला तथा बालबालिकाविरुद्ध अपराधलाई मुख्य अपराध सूचकका रुपमा वर्गीकरण गरिएको छ ।
समस्या मात्रै होइन समस्या समाधानका उपायसमेत सुरक्षित नवलपरासी अभियानमा समावेश छ । नवलपरासी प्रहरीको सुरक्षित नवलपरासी र अपराधिक गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि गरिने क्रियाकलापसमेत उल्लेख गरिएको छ । यहाँको तेस्रो समस्याको रुपमा आत्महत्या रहेको उनले बताए । आत्महत्या रोकथामका लागि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने प्रहरीको योजना रहेको छ । आत्महत्या न्यूनीकरणका लागि पनि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतनालाई महत्त्व दिइएको छ ।
यसैगरी महिला तथा बालबालिकाविरुद्ध अपराधलाई मुख्य प्राथमिकता दिएको प्रहरीले त्यसका लागि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना र शून्य सहनशीलता अपनाउने जनाएको छ । चोरी तथा चोरी निकासी नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना र चोरी निकासमा संलग्न उपर कारबाहीलाई प्राथमिकता दिइएको छ । यस्तै साइबर अपराध न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना र सामाजिक सञ्जाल प्रयोगमा सचेतना बढाउने रहेको जिल्ला प्रहरी कार्यलायका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले जनाएको छन् ।
यस्तै सुरक्षित नवलपरासीको लागि काम सुरु भएको उनले बताए । यसलाई अभियान कैरुपमा लागु गरिने उनले बताएका छन् । पहिलो सूचकको रुपमा प्रहरी र जनताको अनुपातको विश्लेषण गरिएको छ । अहिले जिल्ला प्रहरी कार्यालयमा कार्यरत जनशक्तिले एक जना प्रहरी ले यस क्षेत्रका ८ सय ३२ जनालाई सुरक्षा दिनुपर्ने अवस्था रहेको बोहराको भनाइ छ ।
दोस्रो नम्बरमा प्रहरी र जनताको सम्बन्ध जनसंख्या र अपराधिक घटनालाई न्यूनीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘अहिले हिरासतमा धेरै व्यक्ति छन् । उनीहरु विभिन्न अपराधमा मुछिएका छन् । अहिले हाम्रोमा रहेको संख्याको अनुपात धेरै छ । यसरी हेर्दा यो क्षेत्र अपराधको प्रमुख स्थल बन्दै गएको देखिन्छ । यो रोक्ने अभियान हो,’ उनले भने ।