रेसुङ्गा विमानस्थलमा दुई महिनादेखि उडान ठप्प 

भदौ ९, गुल्मी – रेसुङ्गा विमानस्थलमा दुई महिनादेखि उडान ठप्प भएको छ । गत वैशाख अन्तिम साताबाट व्यवसायिक उडान शुरु गरेको गुल्मीको रेसुङ्गा विमानस्थलमा दुई महिनादेखि उडान हुन सकेको छैन ।

हप्ताको २ दिन बुधवार र शुक्रवार उडानको अनुमति पाएको विमानस्थलमा जेठको अन्तिम साता पछि मौसम खराबको कारण उडान हुन नसकेको हो । पछिल्लो पटक गत असार ६ गते बुधवार काठमाडौंबाट रेसुङ्गा विमास्थलका लागि छुटेको जहाज मौसम खराबको कारण बिच बाटोबाटै काठमाडौं फर्किएको थियो । त्यसपछि रेसुङ्गा विमानस्थलबाट कुनै पनि उडान भएको छैन ।

रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान गर्ने समय तालिका रहेको छ । तर उडान गर्ने बिहानी समयमा विमानस्थलमा बादल लागेका कारण उडानमा समस्या भएको विमानस्थलका वरिष्ठ अधिकृत अस्मिता बस्नेतले बताउनुभयो ।

भदौ महिनामा पनि नियमित वर्षात भइरहेकाले मौसम खराब कारण उडान गर्न समस्या हुँदै आएको उहाँको भनाइ छ । रेसुङ्गा विमानस्थलमा बिहानी समयमा मात्रै उडानको लागि उपयुक्त हुने प्राधिकको निष्कर्ष रहेको छ । दिउँसको समयमा हावा चल्ने भएकाले उडान गर्न समस्या हुने गर्दछ । २०६३ सालमा रेसुङ्गा विमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक नागरिक उड्डयन मन्त्री प्रदीप ज्ञवालीले  गर्नुभएको थियो । तर निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो ।

रेसुङ्गा विमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ । विमानस्थलमा हालसम्म निर्माणमा करिव ३५ करोड खर्च भईसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *