बिहीबार, ०१ फागुन २०८१
सुनवल नगरपालिका

पत्रकारलाई ‘झोले’ भनेको टिप्पणीप्रति आपत्ति, नगरप्रमुख बिमला अर्यालको अभिव्यक्तिको चौतर्फी विरोध

May 11, 2025
May 11, 2025

नवलपरासी

सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालद्वारा सामाजिक सञ्जालमा पत्रकारहरूलाई ‘झोले पत्रकार’ भनी गरेको टिप्पणीप्रति विभिन्न सञ्चार संगठन र पत्रकारहरूले आपत्ति जनाएका छन्। केही दिनअघि नगरप्रमुख अर्यालले फेसबुकमा एक व्यक्तिको स्टाटसमा टिप्पणी गर्दै पत्रकारिता क्षेत्रप्रति अवहेलना जनाउने खालको अभिव्यक्ति दिएकी थिइन्।

नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली र सचिव अनिल यादवले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उक्त टिप्पणीले पत्रकारिता क्षेत्रको गरिमा र प्रेस स्वतन्त्रतामाथि आँच पुर्‍याएको जनाइएको छ। विज्ञप्तिमा नगरप्रमुखजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले व्यक्तिगत असन्तुष्टि भए पनि गरिमायुक्त भाषा प्रयोग गर्नुपर्ने उल्लेख छ।

प्रेस युनियनका अध्यक्ष उमेश विक, प्रेस सेन्टरकी अध्यक्ष विष्णु खनाल र प्रेस चौतारी नवलपरासीका अध्यक्ष गौरीशंकर जैसवालले पनि नगरप्रमुखको टिप्पणीप्रति आपत्ति जनाउँदै अभिव्यक्ति सच्याउन तथा सार्वजनिक माफी माग्न माग गरेका छन्।

नेपाल पत्रकार महासंघ नवलपरासीका पूर्वअध्यक्ष हरि शर्माले जनताबाट निर्वाचित प्रतिनिधिबाट पत्रकारमाथि गरिएको यस्तो अभिव्यक्तिले लोकतन्त्रको मर्ममाथि चोट पुर्‍याएको बताए।

लेखकको बारेमा