बिहीबार, ०१ फागुन २०८१
Uncategorized

नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी

February 21, 2026
February 21, 2026

नवलपरासी / ९ फाल्गुन — नेपाली काँग्रेस नवलपरासीमा आन्तरिक कलह, पार्टी प्रति असन्तुष्टी र टिकट विवादका कारण संगठन भित्र असन्तुष्टि तीव्र बनेको छ। जिल्लामा सक्रिय केही प्रभावशाली नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेसँगै कांग्रेसलाई ठूलो धक्का लागेको विश्लेषण गरिएको छ।

पार्टी परित्याग गर्नेहरूमा कृष्ण प्रसाद भट्टराई, पशुपति न्यौपाने, उर्मिला बनिया (अग्रहरी), गोमती परियार र बद्री आलम लगायतका नेता रहेका छन्। कृष्ण प्रसाद भण्डारी बर्दघाट नगरपालिका वडा नं १० का उपसभापति हुन, पशुपति न्यौपाने नवलपरासी क्षेत्र नं ०२ “क” का क्षेत्रीय सचिव थिए। उर्मिला बनिया (अग्रहरी) सक्रिय नेतृका रूपमा परिचित थिइन् भने गोमती परियार नेपाल महिला संघका रामग्रामकी पूर्व अध्यक्ष हुन्। महिला संगठन विस्तारमा उनको भूमिका उल्लेखनीय मानिन्छ।

त्यसैगरी बद्री आलम नेपाल मुस्लिम संघका जिल्ला अध्यक्ष थिए। मुस्लिम समुदायमा राम्रो प्रभाव भएका आलमको बहिर्गमनले पार्टीको समावेशी छविमा असर पर्ने विश्लेषण गरिएको छ।

यसअघि नै बर्दघाट नगर सभापति दामोदर जिसी, क्षेत्र नं १ का क्षेत्रीय सचिव बालिन्द्र विक्रम शाही तथा नेपाल प्रेस युनियन नवलपरासीका पूर्व सभापति एवं कांग्रेस नेता पुरुषोतम सुवेदी लगायतले पनि पार्टी परित्याग गरेका थिए। पछिल्लो पुस्ताका ‘Gen-Z’ नेताहरू समेत रास्वपा प्रवेश गरेको जनाइएको छ। युवा पुस्तामा देखिएको असन्तुष्टि र नेतृत्वसँगको दूरीले भविष्यमा संगठन थप कमजोर बन्न सक्ने संकेत देखिएको छ।

विगतमा पनि टिकट विवादले आन्तरिक द्वन्द्व उत्पन्न गरेको थियो। कांग्रेसले भीमबहादुर थापा क्षेत्री ‘भरत’ लाई आधिकारिक उम्मेदवार घोषणा गरेपछि पूर्व गृहराज्यमन्त्री देवेन्द्र राज कँडेल तथा उनका समर्थकहरूले खुलेर विरोध जनाएका थिए । विभिन्न स्थानमा “मुर्दाबाद–जिन्दाबाद” का नारा लगाउँदै उनीहरूले असन्तुष्टि व्यक्त गरेका थिए।

पाल्हीनन्दन गाउँपालिका–स्थित हरपुर चोकमा कांग्रेसका नव–निर्वाचित केन्द्रीय सदस्य राधेश्याम पाठकलाई कँडेल समर्थकहरूले घेराउ गर्दै “भरत थापा मुर्दाबाद” र “टिकट चोर हो” जस्ता नारा लगाएका थिए। टिकट वितरण प्रक्रिया पारदर्शी नभएको आरोप उनीहरूको आरोप थियो ।

लेखकको बारेमा