बिहीबार, ०१ फागुन २०८१
राजनीति

देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न

February 13, 2026
February 13, 2026

नवलपरासी / १ फाल्गुन ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देवेन्द्र राज कँडेललाई उनकै पार्टीका नेताले ‘भगवान शंकर’को संज्ञा दिएका छन्।

लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले बिहीवार आयोजित पार्टीको क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै कँडेललाई शंकर भगवानसँग तुलना गरेका हुन्। उनले भने, “देवेन्द्र राज कँडेल शंकर भगवान जस्तै व्यक्तित्व हुनुहुन्छ। शंकर भगवानको काम सृष्टि निर्माण गर्नु हो, त्यसैले उहाँले निर्माण गर्नुभएको राजनीतिक आधार र संरचनाबाट कसैले आत्तिनु पर्दैन।”

जयसवालले कँडेलको राजनीतिक नेतृत्व र संरक्षणकै कारण आफू लगायत धेरै नेताहरू स्थापित भएको दाबी गरे। उनले पूर्व मेयर नरेन्द्र गुप्ता, भीम बहादुर थापा ”, संविधान सभा सदस्य विक्रम खनाल, आफू स्वयं बैजनाथ जयसवाल तथा सरावल गाउँपालिकाका पूर्व अध्यक्ष राधेश्याम चौधरीलगायतका नेताहरूलाई कँडेलले नै नेता बनाएको, कँडेल कै मार्गदर्शन र योगदानबाट अघि बढेको उल्लेख गरे।

यद्यपि, एक जीवित राजनीतिक व्यक्तित्वलाई भगवान शंकरसँग तुलना गर्दै ‘भगवान’को दर्जा दिनु उपयुक्त हो कि होइन भन्ने विषयमा बहस सुरु भएको छ। हिन्दू धर्ममा भगवान शंकर आस्थाको सर्वोच्च प्रतीक मानिन्छन्।

त्यस्तो धार्मिक आस्थासँग जोडिएको व्यक्तित्वलाई कुनै राजनीतिक व्यक्तिसँग तुलना गर्नु धर्मीय भावनासँग मेल नखाने तथा हिन्दू धर्मको मूल्य–मान्यताविरुद्ध भएको टिप्पणी पनि हुन थालेको छ।
केही स्थानीय बौद्धिक तथा सर्वसाधारणले धार्मिक आस्था र राजनीतिक प्रशंसालाई छुट्टै राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनीहरूको भनाइमा राजनीतिक व्यक्तित्वको योगदानको प्रशंसा गर्न सकिन्छ, तर त्यसलाई देवत्वसँग जोड्नु उचित नहुने तर्क गरिएको छ।

समारोहमा अन्य वक्ताहरूले भने कँडेलको संगठन निर्माण, कार्यकर्ता संरक्षण र राजनीतिक समन्वय क्षमताको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

लेखकको बारेमा