बिहीबार, ०१ फागुन २०८१
Uncategorized

रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान

५ माघ २०८२, आईतवार
५ माघ २०८२, आईतवार

धनन्जय उपाध्याय/रुपन्देही

एमबिबिएस स्कलरसिपमा नाम निकाल्दै मर्चवार क्षेत्रको शैक्षिक गौरव बढाएका रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको केन्द्रीय समितिले नगद सहयोगसहित सम्मान गरेको छ। अखिल नेपाल मजदुर निर्माण संघको केन्द्रीय समितिले सम्मरीमाई गाउँपालिका वडा नं ५ देवनडिह निवासी एमबिबिएस स्कलरसिप विजेता रामचन्द्र मल्लाहलाई १० हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ। कार्यक्रम केन्द्रीय समितिका पदाधिकारी, सदस्यहरू तथा स्थानीय जनसमुदायको उपस्थितिमा सम्पन्न भएको हो।

संघका केन्द्रीय अध्यक्ष नन्दु पालले रामचन्द्रलाई पुरस्कार स्वरूप नगद सहयोग हस्तान्तरण गर्दै भने, “अभाव र संघर्षका बीच पनि हिम्मत नहारेर एमबिबिएस स्कलरसिपसम्म पुग्नु अत्यन्तै प्रेरणादायी कुरा हो। रामचन्द्रजस्ता मेहनती युवालाई प्रोत्साहन गर्नु संघको सामाजिक दायित्व हो।” उनले आगामी दिनमा पनि संघले शिक्षा र श्रमजीवी परिवारका प्रतिभावान विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए। केन्द्रीय उपाध्यक्ष बैतुल्लाह खानले रामचन्द्रको सफलताले मजदुर तथा विपन्न परिवारका छोराछोरीलाई ठूलो सन्देश दिएको बताउँदै भने, “स्रोत–साधनको कमी हुँदाहुँदै पनि लक्ष्य स्पष्ट भए सफलता सम्भव हुन्छ भन्ने उदाहरण रामचन्द्रले प्रस्तुत गर्नुभएको छ।”संघका केन्द्रीय सचिव घनश्याम धोबीले शिक्षा नै समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै भने, “रामचन्द्रको उपलब्धि व्यक्तिगत मात्र होइन, मजदुर वर्ग र मर्चवार क्षेत्रकै साझा उपलब्धि हो। यस्ता प्रतिभालाई संस्थागत रूपमा साथ दिनु आवश्यक छ।”

त्यस्तै, सहसचिव कमरुद्दिन दर्जीले संघले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बताउँदै भविष्यमा पनि गरिब तथा मेहनती विद्यार्थीको अध्ययनमा सहयोग जारी रहने बताए। कोषाध्यक्ष रमानन्द यादवले सहयोग रकम सानो भए पनि यसले हौसला र आत्मबल बढाउने विश्वास व्यक्त गरे।कार्यक्रममा उपस्थित सदस्यहरू सुरेन्द्र बरई, हरकु मौर्यलगायत अन्य सदस्यहरूले पनि रामचन्द्रको सफलताको प्रशंसा गर्दै उज्ज्वल भविष्यको कामना गरेका थिए। स्थानीय जनसमुदायले पनि संघको यो कदमलाई सकारात्मक र प्रेरणादायी भन्दै सराहना गरेका छन्।

अभाव, कठिनाइ र निरन्तर संघर्षलाई जित्दै एमबिबिएस स्कलरसिपसम्मको यात्रा तय गरेका रामचन्द्र मल्लाह आज मर्चवार क्षेत्रका युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन्। अखिल नेपाल मजदुर निर्माण संघको सहयोग र सम्मानले उनको हौसला अझै बढाएको छ भने समाजमा “मेहनत र लगनशीलता भए सफलता अवश्य मिल्छ” भन्ने सन्देशलाई थप बलियो बनाएको छ।

लेखकको बारेमा