सत साहेब सिटी अस्पतालको २५ शैया अस्पतालमा विस्तार हुँदै
नवलपरासी/ २५ पुष।
रामग्राम नगरपालिका-५, परासीमा अवस्थित सत साहेब सिटी अस्पताल प्रा.लि. ले २५ शैयाको अस्पताल निर्माण तथा सञ्चालनका लागि तयार पारेको संक्षिप्त वातावरणीय अध्ययन (BES) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
अस्पतालको पूर्वाधार विस्तार तथा स्वास्थ्य सेवा स्तरोन्नतिको उद्देश्यले आयोजना गरिएको उक्त सुनुवाइ अस्पतालकै प्राङ्गणमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, बुद्धिजीवी, स्वास्थ्यकर्मी, स्थानीयवासी तथा वातावरणीय विज्ञहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रस्तुत विवरण अनुसार हाल सञ्चालनमा रहेको १५ शैया अस्पताललाई व्यवस्थित रूपमा विस्तार गरी २५ शैया सहित आधुनिक सेवा प्रवाह गर्ने लक्ष्य लिइएको अस्पतालको सञ्चालक डाक्टर अजेन्द्र यादवले बताए। उनले अस्पताल विस्तार पछि सामान्य चिकित्सा सहित स्त्रीरोग तथा प्रसूति सेवा, बाल तथा शिशु सेवा, जनरल सर्जरी, इमरजेन्सी सेवा, ओपीडी, एक्स–रे, इसिजी, प्रयोगशाला, फार्मेसी, दन्त तथा आँखाको उपचार सेवा लगायत थप उपचारको सुविधा उपलब्ध गराइने प्रस्ताव अघि सारेको बताए । साथै २४ सै घण्टा आकस्मिक सेवा सञ्चालन रहे पनि थप सुविधाको पनि सेवा सुरु गर्ने योजना पनि प्रस्तुत गरिएको छ।

संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदनमा अस्पताल निर्माण तथा सञ्चालनका क्रममा वातावरणमा पर्न सक्ने सम्भावित असर र त्यसको न्यूनीकरणका उपायहरू समेत उल्लेख गरिएको छ। फोहोर व्यवस्थापन, जैविक तथा चिकित्सकीय फोहोरको सुरक्षित व्यवस्थापन, ध्वनि र प्रदूषण नियन्त्रण तथा सरसफाइ व्यवस्थालाई प्राथमिकतामा राखिएको जनाइएको छ।

सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासीहरूले अस्पताल विस्तारले क्षेत्रको स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् भने केहीले ट्राफिक व्यवस्थापन, सरसफाइ र फोहोर व्यवस्थापनमा विशेष ध्यान दिन सुझाव दिएका थिए।

कार्यक्रममा प्राविधिक सहयोग लुम्बिनी साइन्टिफिक इम्पोरियम, रामग्राम–१३ ले गरेको थियो भने आयोजनाको जिम्मेवारी सत साहेब सिटी अस्पताल प्रा.लि. ले लिएको थियो।

अस्पताल व्यवस्थापन पक्षले प्राप्त सुझावलाई समेट्दै वातावरणमैत्री ढंगले अस्पताल विस्तार तथा सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।








भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड