नेपाली काँग्रेस नवलपरासीका युवा नेता राकेश र निरज द्वारा राजीनामा
नवलपरासी, पुस १३ —
पश्चिम नवलपरासीमा नेपाली काँग्रेसले केवल एक नेता मात्र होइन, युवा पुस्ताको भरोसा र संगठनात्मक भविष्य समेत गुमाउँदै गएको संकेत देखिएको छ। विद्यार्थी राजनीतिबाटै संगठन निर्माणमा खटिँदै आएका काँग्रेसका प्रभावशाली युवा नेता राकेश गुप्ता र पाल्ही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा सभापतिमा निर्वाचित भएका निरज प्रसाद धवलले पार्टी परित्याग गरे सँगै जिल्लाको राजनीतिमा तरंग पैदा भएको छ।
गुप्ताले भदौ २३ गते सामाजिक सञ्जाल मार्फत दल त्यागको घोषणा गरिसकेका थिए भने पुस २ गते औपचारिक रूपमा पार्टीको राजीनामा बुझाएका हुन्। तर यो राजीनामालाई सामान्य औपचारिकता मान्न सकिँदैन। यसलाई काँग्रेसभित्र बढ्दो असन्तुष्टि, नेतृत्वप्रति घट्दो विश्वास र विचारहीन संगठन सञ्चालनको परिणामका रूपमा विश्लेषण गर्न थालिएको छ।

दुई दशकभन्दा बढी समय बालबालिका, युवा, महिला तथा बञ्चित समुदायको सशक्तीकरणमा क्रियाशील गुप्ता जिल्लामा राजनीतिज्ञभन्दा पनि इमानदार सामाजिक अभियन्ता र युवा उद्यमीका रूपमा परिचित थिए। उनी संगठनभित्र विकल्प निर्माण गर्न सक्ने सम्भावनायुक्त नेतृत्व मानिँदै आएका थिए। तर पार्टी नेतृत्वले यस्ता ऊर्जाशील र परिणाममुखी कार्यकर्तालाई टिकाइराख्न नसक्नुले काँग्रेसको संगठनात्मक असफलता उजागर गरेको छ।

पार्टी परित्यागपछि गुप्ताले सार्वजनिक रूपमा भनेका छन्, “परिवर्तनको कुरा गर्नेले आफैं परिवर्तन हुनुपर्छ। व्यक्तिगत स्वार्थ, गुटबन्दी र पदको राजनीतिभन्दा माथि उठेर देश र समाजलाई केन्द्रमा राख्ने समय आएको छ।” उनको यो अभिव्यक्तिलाई काँग्रेसभित्रको गुटगत राजनीति र अवसरवादप्रति गरिएको खुला चुनौतीका रूपमा हेरिएको छ।
गुप्ताको बहिर्गमनसँगै नेपाल विद्यार्थी संघबाट प्रतिनिधित्व गर्दै पाल्ही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा सभापतिमा निर्वाचित भएका निरज प्रसाद धवलले पनि पार्टी परित्याग गरेका छन्। विद्यार्थी संगठनदेखि जिल्ला तहसम्म युवा नेतृत्वको श्रृंखलाबद्ध बहिर्गमनले काँग्रेसको आधार कमजोर बन्दै गएको संकेत गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

राजनीतिक विश्लेषकहरूका अनुसार पुरानो नेतृत्व संरचना, विचारभन्दा गुटलाई प्राथमिकता दिने प्रवृत्ति र युवालाई केवल भीडको रूपमा प्रयोग गर्ने संस्कार नबदलिए काँग्रेसले आगामी दिनमा अझ गहिरो संकट सामना गर्नुपर्नेछ। नवलपरासीबाट सुरु भएको यो असन्तुष्टिको स्वर अन्य जिल्लासम्म फैलिन सक्ने चेतावनीका रूपमा पनि हेरिएको छ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड