Site icon Khatra News

गोसाइँकुण्ड पुग्ने तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ डाक्टरको टोली गोसाइँकुण्डमा

भदौ १२-गोसाइँकुण्ड पुग्ने तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ डाक्टरको टोली गोसाइँकुण्डमा ।
रसुवामा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा पुग्ने तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ डाक्टरको टोली गोसाइँकुण्ड पुगेको छ ।
बाग्मती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाण्डौको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न जाने तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सात जनाको डाक्टर समूह गोसाइँकुण्ड पुगेको हो ।
समुद्र सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा भर्खरै मोबाइल टावरसमेत पुगेको छ । यसअघि गोसाइँकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई मोबाइल सम्पर्कसमेत हुन सकेको थिएन ।
एकादशीदेखि भाद्र शुक्ल पूर्णिमासम्म लाग्ने यस मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन् । गोसाइँकुण्डमा हरेक वर्ष गङ्गादशहरा र जनैपूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने गर्दछ ।

Exit mobile version