अचानक चिसो बढेपछि नवलपरासीको जनजीवन प्रभावित

ज्ञानेश्वर सहानी / नवलपरासी / २० पुस

पश्चिम नवलपरासी सहित तराईका जिल्लाहरूमा चिसो अत्यधिक बढ्न थालेको छ। बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय जनजीवन अत्यन्त प्रभावित भएको छ। खासगरी बिहान र बेलुका चिसोको तीव्रताले मानिसहरूलाई दैनिक क्रियाकलाप सञ्चालन गर्नसमेत कठिनाई भइरहेको छ।

चिसोका कारण सर्वसाधारणको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको छ। बालबालिका, वृद्धवृद्धा, र दीर्घ रोगीहरू चिसोको प्रत्यक्ष असरमा परेका छन्। चिकित्सकहरूले बालबालिकामा निमोनिया, श्वासप्रश्वाससम्बन्धी संक्रमण, र दमका बिरामीमा समस्या बढिरहेको बताएका छन्। पाल्हिनन्दन गाउँपालिका–३ का स्थानीय विनय मिश्रका अनुसार, चिसोले दैनिक जीवनयापनका गतिविधि ठप्पजस्तै बनेका छन्। मानिसहरू बिहानपख गोठालो जान, खेतबारीमा काम गर्न, र बजार पसल खोल्नसमेत हिचकिचाइरहेका छन्।

चिसो छल्न स्थानिय मानिसहरूले दाउरा र गोइठा बालेर ताप्ने गरेका छन्। आगो ताप्ने दृश्य बिहानै देखि देखिने गरेको छ। न्यानो कपडाको अभावका कारण गरीब र विपन्न वर्गका मानिसहरू अझ बढी समस्यामा परेका छन्। चिसो बढेसँगै बजारमा न्यानो कपडाको माग अत्यधिक बढेको छ। तर, गरिब वर्गले महँगो न्यानो कपडा किन्न नसक्दा उनीहरू आगो ताप्ने र प्लास्टिकको कपडाबाट बनेका अस्थायी साधन प्रयोग गर्न बाध्य भएका छन्।

त्यस सँगै स्वास्थ्य क्षेत्रको चुनौती समेत बढेको छ।स्थानीय स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्दै गएको छ। शीतलहरको प्रभावले गर्दा रुघाखोकी, ज्वरो, झाडापखाला, र दमजस्ता समस्या तीव्र रूपमा देखिन थालेका छन्। नवलपरासी अस्पतालका डा. मुरली गुप्ताका अनुसार, यस्तो समयमा विशेषगरी बालबालिका र वृद्धवृद्धाको उचित हेरचाह गर्नुपर्ने आवश्यकता छ। पानी तताएर पिउनु, न्यानो कपडा लगाउनु, र अत्यधिक चिसोमा घरबाहिर जानबाट बच्नुपर्ने सुझाव चिकित्सकहरूले दिएका छन्।

हरेक वर्ष पश्चिम नवलपरासीमा चिसोका कारण मानिसहरूको मृत्यु हुने गरेको तथ्यांकले प्रशासनको भूमिका अझ महत्वपूर्ण बनाएको छ। तराईका जिल्लाहरूमा चिसोको समयमा राहतका लागि ब्ल्याङ्केट वितरण, अस्थायी तापस्थलको व्यवस्था, र स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने माग स्थानीयहरूले उठाएका छन्।

चिसोबाट कठ्याङ्ग्रिएर मृत्यु हुने घटना घटाउन र जनताको जनजीवन सहज बनाउन सरकारले विशेष योजना ल्याउनुपर्ने देखिएको छ। विशेषगरी वृद्धवृद्धा, एकल महिला, बालबालिका, र कमजोर वर्गका व्यक्तिहरूका लागि न्यानो कपडा, दाउरा, र अन्य राहत सामग्री उपलब्ध गराउनु अत्यावश्यक छ।

जलवायु विज्ञहरूका अनुसार, केही दिनसम्म चिसोको तीव्रता झन् बढ्ने सम्भावना छ। अत्यधिक हुस्सुका कारण बिहानको समयमा दृश्यता निकै कम हुने गरेकाले गाडीचालकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

चिसोको प्रभावबाट सुरक्षित रहन स्थानीयबासीहरूले थप सतर्कता अपनाउनुका साथै प्रशासनले आपत्कालीन योजना कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने आवाज उठिरहेको छ।

More From Author

सामुदायिक वनका अध्यक्ष माथिनै काठ चोरीको आरोप

नवलपरासी फोटोग्राफर संघको ५ औं वार्षिक साधारण सभा सम्पन्न