१५ दिने बेमौसमी तरकारी खेती सम्बन्धी तालिम सुरु

रंजीत शर्मा, नवलपरासी, १७ चैत।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा १५ दिने बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम सुरु भएको छ। चैत १५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने उक्त तालिम स्थानीय किसानहरूलाई आधुनिक प्रविधि तथा प्रविधिमैत्री खेतीप्रति प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको हो।
युनाइटेड मिसन टु नेपाल नवलपरासी क्लस्टरको साझेदारी तथा ट्रान्सफर्म ऐड इन्टरनेशनलको आर्थिक सहयोगमा सुनवल सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित अपाङ्गता समावेशी विकास परियोजना अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो। तालिम उद्घाटन कार्यक्रम वार्ड नं. ४ का वडा अध्यक्ष रवीन्द्र साहनीको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

तालिमका क्रममा कृषिविज्ञहरूले हावापानी, मल व्यवस्थापन, रोग नियन्त्रण तथा आधुनिक प्रविधिको प्रयोगबारे जानकारी दिनेछन्। प्रशिक्षकहरूका अनुसार, बेमौसमी तरकारी खेतीले किसानहरूको आम्दानी वृद्धि गर्नुका साथै बजारको माग पूरा गर्न मद्दत गर्नेछ। साथै, तालिममा व्यावसायिक कृषि तथा कृषि बीमासम्बन्धी जानकारी पनि प्रदान गरिनेछ।

गाउँपालिकाका अध्यक्ष गुप्ताले तालिमलाई सम्बोधन गर्दै भने, “बेमौसमी तरकारी खेती प्रवर्द्धन गर्न यस्ता तालिमहरू महत्वपूर्ण छन्। यसले स्थानीय उत्पादन वृद्धि गरी उपभोक्तालाई वर्षभरि ताजा तरकारी उपलब्ध गराउनेछ।” साथै, उनले गाउँपालिकाले पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइरहेको बताए। उनले किसानहरूको उत्पादनलाई बजारसम्म पुर्याउन सहजीकरण गर्न पालिका प्रतिबद्ध रहेको बताए।

तालिममा पाल्हीनन्दन गाउँपालिकाका १० जना किसानहरूको उत्साहजनक सहभागिता रहेको छ। सहभागी किसानहरूले तालिमबाट प्राप्त ज्ञान आफ्नै खेतीमा लागू गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातुमा खातुन अन्सारी (सकिना), कृषि शाखा प्रमुख पशुपति नाथ चौधरी, वार्ड सदस्य असगर अलि सेन, परियोजना संयोजक श्यामसुन्दर र समाबेसी तथा पुनर्स्थपना संयोजक राधा तिमल्सिना लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सहजकर्ता नर बहादुर खड्काले गरेका थिए।






भर्खरै
-
समाजसेवामा सदैव अग्रसर बिरेन्द्र यादव
-
खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि समाजसेवी वीरेन्द्र यादवद्वारा खेलकुद सामग्री सहयोग
-
एकै घरका दुई भाई अधिवक्ता
-
सेवा आश्रम तथा बृद्धाश्रमलाई सरावल गाउँपालिकाद्वारा सामाग्री सहयोग
-
बर्दघाट नगरपालिकामा जेष्ठ १६ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने
-
पाल्हीनन्दन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु