परियोजनाले बदलियो अपाङ्गता भएका सरजन यादवको जीवन

रंजीत शर्मा, नवलपरासी,३० माघ ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि उनीहरूको हकअधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ अपाङ्गता समावेशी विकास परियोजना सुनवल सामुदायिक विकास केन्द्रले युनाइटेड मिसन टु नेपाल नवलपरासी क्लस्टरको साझेदारी तथा ट्रान्सफर्म ऐड इन्टरनेसलनको आर्थिक सहयोगमा सञ्चालन गरेको छ। यस परियोजनाले जिल्लाका धेरै अपाङ्गता भएका व्यक्तिहरूको जीवन परिवर्तन गर्न सफल भएको छ।यो परियोजना २०८० साउन देखि कार्यान्वयनमा आएको हो।
यही परियोजनाको सकारात्मक प्रभावको उदाहरण हुन् सरजन यादव, जसले समाजका अनेकौं चुनौतिहरू पार गर्दै आफ्नो जीवनमा नयाँ मोड ल्याएकी छन्। वि.सं. २०६६ असोज १ गते पाल्हीनन्दन गाउँपालिका–२, पिपरहवामा जन्मिएकी सरजन यादव जन्मजात शारीरिक अपाङ्गता भएकी थिइन्। उनका पिता संजय कुमार यादव र माता शान्ति यादव हुन्। सात जनाको परिवारमा माहिली सन्तानका रूपमा जन्मिएकी सरजनको प्रारम्भिक जीवन निकै कठिन रह्यो।

सरजनले आफ्नो अध्ययन कक्षा १ सम्म ज्ञानज्योति इङ्गलिस बोर्डिङ स्कुलमा गरिन्। तर, उनको शारीरिक अवस्थाका कारण समाजबाट धेरै हेला र तिरस्कार सहनुपर्यो। शारीरिक अपाङ्गता भएकी छोरी पढेर केही गर्न सक्दिन भनेर कतिपयले नकारात्मक टिप्पणी गरे। समाजका यस्तो प्रतिक्रियाले उनको परिवारमा समेत निराशा छायो।

आर्थिक अवस्था कमजोर भएका कारण सरजनलाई परिवारले सरकारी विद्यालय श्री सिद्धार्थ माध्यामिक विद्यालय मा भर्ना गर्यो। त्यहाँ पनि शिक्षक र बालबालिकाबाट तिरस्कार झेल्नुपर्यो। उपचारका लागि बुटवल, भैरहवा र पृथ्वीचन्द्र अस्पतालमा लगे पनि उनको स्वास्थ्यमा कुनै सुधार भएन।

जब सरजन आठ वर्षकी भइन्, तब एक समाजसेवीले उनलाई अपाङ्गता परिचयपत्र (सेतो कार्ड) बनाउन सुझाव दिए। पछि, उनले कार्ड प्राप्त गरिन् र काठमाडौँको बनेपास्थित HRDC अस्पतालमा उपचार गराइन्।
२०७९ सालमा अपाङ्गता समावेशी विकास परियोजना सरजनको जीवनमा एउटा कोसेढुंगा बन्यो। परियोजनाले उनलाई शैक्षिक सामग्री सहयोग मात्र गरेन, आत्मविश्वास बढाउनका लागि विभिन्न गतिविधिमा संलग्न गरायो।
२०७९ सालमा घाँटीको सफल शल्यक्रिया गराइन्, जसले उनको दैनिक जीवन सहज बनायो। अब उनी अरू सरह विद्यालय जान सक्ने भएकी छिन्। पढाइलाई निरन्तरता दिँदै सरजन अहिले वडा स्तरिय अपाङ्गता अधिकार प्रवर्द्धन समिति मा सदस्यको रूपमा काम गरिरहेकी छन्। उनी बाल क्लबको सदस्य पनि भएकी छन्।
यसै परियोजनाबाट आयआर्जन सहयोग प्राप्त गरी उनले आफ्नो परिवारको लागि किराना पसल सञ्चालन गरिरहेकी छन्। अहिले पसलबाट दैनिक ५००-७०० रुपैयाँ आम्दानी हुन्छ, जसले उनको अध्ययन र परिवारको खर्च व्यवस्थापन गर्न सहयोग पुगेको छ।
सरजनको जीवन संघर्ष, आत्मविश्वास र सफलताको प्रेरणादायी उदाहरण हो। अपाङ्गता कुनै कमजोरी होइन, यदि सही अवसर र वातावरण मिलेमा अपाङ्गता भएका व्यक्तिहरू पनि आत्मनिर्भर बन्न सक्छन् भन्ने उनको कथाले प्रमाणित गर्छ।
परियोजनाको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउनु, उनीहरूको सामाजिक, आर्थिक र शैक्षिक अवसरहरू वृद्धि गर्नु तथा अधिकार प्राप्तिको प्रक्रियामा उनीहरूको पहुँच सुनिश्चित गर्नु हो। परियोजनाका गतिविधिहरू अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका परिवारलाई आर्थिक रूपमा सशक्त बनाउने, अधिकारसम्बन्धी जनचेतना फैलाउने, समावेशी शिक्षामा पहुँच विस्तार गर्ने तथा सामाजिक सहभागिता बढाउने लक्ष्यमा केन्द्रित छन्।
यस परियोजनाका कार्यक्रमहरू २ पालिकामा सञ्चालन छन् । जस अन्तर्गत अपाङ्गता समन्वय समिति, १५ वटा वार्ड स्तरिय अपाङ्गता अधिकार प्रवर्द्धन समिति, समावेशी बाल क्लब र स्वाबलम्बन समूह मार्फत सञ्चालित छन्। स्थानीय सरकार, विद्यालय, प्रहरी, स्वास्थ्य कार्यालयलगायत सरोकारवाला निकायहरूसँग समन्वय गर्दै परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूको समावेशी विकासमा योगदान पुयाइरहेको छ।
परियोजनाले २०२८ भित्र अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका परिवारले समान अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ। साथै, अपाङ्गता समावेशी दिगो विकास र विपद् जोखिम न्यूनीकरण योजना लागू गर्दै समुदायको क्षमता अभिवृद्धि गर्ने कार्यमा पनि परियोजना संलग्न छ।






भर्खरै
-
लुम्बिनी प्रदेश सरकारका गाडीको निर्लज्ज दुरुपयोग कर्मचारी मदिरा र जुवामा मस्त
-
जरा अभियान अन्तर्गत वडा नं ७ मा वडा कमिटी गठन
-
सशस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामानहरू बरामद
-
बर्दघाट कालिका मन्दिरमा रुद्र महायज्ञ हुँदै
-
भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु
-
इलाका प्रहरी कार्यालय लुम्बिनी सक्रिय